विश्व बजारमा वस्तुको मूल्य वृद्धिदर निरन्तर उकालो लागिरहेको छ । ६ सातादेखि जारी रुस–युक्रेन युद्धका कारण मूल्यवृद्धिको गति तीव्र बनेको हो । जसअनुसार अमेरिकाको मूल्यवृद्धि पछिल्लो ४० वर्षयताकै उच्च विन्दुमा पुग्दा युरोपेली क्षेत्रमा भने हालसम्मकै सर्वाधिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । दक्षिण एसियाली मुलुकहरूमध्ये श्रीलंकाको मूल्य वृद्धिदर १९ प्रतिशत हाराहारीमा पुगेको छ भने भारत र नेपालको मूल्यवृद्धि पनि चापमा रहेको सम्बन्धित मुलुकका केन्द्रीय बैंकहरूले जनाएका छन् । तर, चीनको मूल्य वृद्धिदर भने सामान्य रहेको बताइएको छ ।

केही महिनायता अमेरिकामा अचाक्ली मूल्यवृद्धि भइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यो क्रम नरोकिए आउँदो महिनामा मूल्य वृद्धिदर ९ प्रतिशत हाराहारी पुग्ने प्रक्षेपण गरिएको छ । कच्चा पदार्थको मूल्य बढ्दा उत्पादन लागत बढेको उद्योगी–व्यवसायीको भनाइ छ । बढेको लागत उपभोक्तामा स्थानान्तरण गर्दा वस्तु तथा सेवाको मूल्य बढेको उनीहरूको तर्क छ ।
रुस र युक्रेनबीचको युद्धको असर अमेरिकामा पनि देखिएको हो । युद्ध नरोकिँदा विश्वबजारमै वस्तुको अभाव हुन सक्ने भन्दै उपभोक्ताले अनावश्यक परिमाणमा भण्डारण गर्दा माग बढेको छ । जसको सोझो असर बजारमा पर्दा मूल्यवृद्धि अकासिएको मिडिया विश्लेषण छ । यो अवधिमा तुलनात्मक रूपमा धेरै मूल्य बढ्ने वस्तुहरूमा इन्धन, खाद्यान्नलगायत घरायसी सामग्री अग्रपंक्तिमा रहेको बताइएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार गत फेब्रुअरी मसान्तसम्म अमेरिकामा उपभोक्ता मूल्य वृद्धिदर ७.९ प्रतिशत हाराहारीमा पुगेको छ । गत जनवरीको तुलनामा यो करिब ०.४२ प्रतिशत विन्दुले बढी हो । सन् २०२१ को फेब्रुअरीमा यस्तो मूल्य वृद्धिदर १.६८ प्रतिशत थियो ।