जिल्ला जिल्लामा शुरु भयो गठबन्धनको ‘होमवर्क’

जिल्ला जिल्लामा शुरु भयो गठबन्धनको ‘होमवर्क’

0Shares

नेपाली काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन दलहरुले आगामी चुनावमा तालमेल गरेर अघि बढ्ने केन्द्रीय स्तरमा समझदारी गरेलगत्तै प्रदेश र जिल्ला तहमा पार्टीका संयुक्त बैठकहरु बस्न थालेका छन् ।

सत्ता पक्षका प्रदेश एवं जिल्ला स्तरीय नेताहरुले संयुक्त बैठक बसेर स्थानीय तहको शक्ति सन्तुलनबारे समीक्षा गर्नुका साथै के–कसरी भागवण्डा गर्ने भन्नेबारे गृहकार्यसमेत थालेका छन् ।

केही दिनयता सातै प्रदेशका विभिन्न जिल्लाहरुमा तालमेलका लागि बैठकहरू बसिरहेका छन् । रातोपाटीका प्रदेश सम्वाददाताहरुले पठाएको विवरणअनुसार देशैभरि गठबन्धनका जिल्ला तहका बैठकहरू सुरु भएका छन् 

प्रदेशस्तरको बैठकले गरेका निर्णयहरुमा गठबन्धनलाई तलसम्म कार्यान्वयन गर्नका लागि वडा तहसम्मै निर्वाचन संयन्त्र बनाएर गठबन्धनलाई प्रभावकारी बनाउने भनिएको छ 

प्रदेश १ का सबै जिल्लामा सम्मानजनक गठबन्धनलाई विशेष जोड दिने र अन्य दलहरुसँग पनि गठबन्धनका लागि आह्वान एवं वार्ता गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिवकुमार डाँगीले रातोपाटीलाई बताए । उनले भने, ‘राप्रपा र संघीय लिम्बुवान राष्ट्रिय मञ्चसँग पनि तालमेलका लागि छलफल हुन्छ ।’

इटहरीमा बसेको बैठकमा गठबन्धनको मोडल कस्तो हुने भन्ने विषयमा सुझाव दिन एक कार्यदल निर्माण भएको छ । कार्यदलमा पार्टी प्रदेशका प्रमुखहरु रहेका छन् भने अन्य १÷१ जना सदस्यहरु थप भएका छन् । जसमा कांग्रेसबाट प्रदेश सभापति उद्धव थापा, महामन्त्री उमेश थापा, नेकपा माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी रहेका छन् । त्यसैगरी, एकीकृत समाजवादीका प्रदेश १ अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ र उपाध्यक्ष उमेश थापा पनि कार्यदलमा रहेको डाँगीले जानकारी दिए ।

बैठकले प्रदेशका प्रमुखहरु रहेको अनुगमन संयन्त्र पनि निर्माण गरेको छ । यो अधिकारसम्पन्न अनुगमन समिति हो । ‘गठबन्धनभित्रका पार्टीहरुले गठबन्धन विरोधी कुरा गर्नु नहुने, उम्मेद्वारी दर्ता भइसकेपछि त्यसको विरुद्धमा जानेहरुलाई नियन्त्रण गर्ने काम पनि सो संयन्त्रले गर्नेछ,’ डाँगीले भने । अहिले जिल्लाभन्दा तल गठबन्धनको विषयमा छलफल नगर्ने निर्णय भएको उनले बताए ।

शनिबार बसेको बैठकमा नेपाली कांग्रेसबाट प्रदेश १ सभापति उद्धब थापा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ, उपाध्यक्ष शिवकुमार डाँगी, नेकपा (एकीकृत समाजवादी)का प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत तथा अध्यक्ष बलदेव चौधरी र जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङ सहभागी थिए ।

गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका प्रदेश सभापति उद्धब थापाले कसरी तालमेल गर्ने, कहाँ कसले प्रमुख, उपप्रमुख, वडा कता लिने भन्ने कुराको विषयमा छलफल प्रारम्भ भएको बताए ।

उनले १ नम्बर प्रदेशका सबै जिल्लामा पनि सोही हिसावले छलफल सुरु भएको जानकारी दिए । केन्द्रको निर्णय अनुसार प्रदेश १ का सबै तहमा गठबन्धनको विकल्प नभएको उनको भनाइ थियो ।

सुनसरी जिल्ला तहमा पनि गठबन्धन दलबीच छलफल सुरु भएको माओवादी नेता डाँगीले बताए । त्यस्तै, झापामा पनि चार दलीय गठबन्धनबीच छलफल हुन लागेको उनले बताए ।

धनकुटामा बन्यो जिल्लास्तरीय संयन्त्र

यसैबीच, धनकुटा जिल्लामा गठबन्धनमा आवद्ध चारदलले जिल्ला स्तरीय संयन्त्र निर्माण गरेर वडा सदस्यसम्मका उम्मेद्वारकै नामावली एक हप्ताभित्र तयार पर्ने निर्णय गरेका छन् । शुक्रबार धनकुटामा बसेको चार दलको बैठकले यस्तो निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेता हेमराज भण्डारीले रातोपाटीलाई जानकारी दिए ।

‘हामीले धनकुटामा वडातहसम्मै गठबन्धन गरेर जाने निर्णय गरिसकेका छौं,’ भण्डारीले भने, ‘जिल्लाका दलका अध्यक्ष तथा सभापतिहरु सम्मिलित संयन्त्र निर्माण भएको छ, त्यसले एक हप्ताभित्र सबै पालिकाका उम्मेद्वारको नाम लिस्ट बुझाउने छ ।’

मोरङमा पनि चार दलको बैठक

मोरङमा रहेका गठबन्धन दलमध्ये नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच विराटनगरस्थित होटल स्टर्न स्टारमा शुक्रबार छलफल भएको छ । माथिको निर्णयलाई कसरी कार्यान्वयन गरेर जाने भन्ने विषयमा प्रारम्भिक छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले रातोपाटीलाई जानकारी दिए ।

बैठकमा कांग्रेसका तर्फबाट मोरङ सभापति डिकबहादुर लिम्बू, माओवादीबाट मोरङ संयोजक विजय विश्वास, सचिव प्रकाश पौडेल, नेकपा एकीकृत समाजवादीका तर्फबाट रेग्मीसहित मोरङका अध्यक्ष चन्द्रवीर राई सहभागी थिए । त्यसैगरी जनता समाजवादीका तर्फबाट मोरङका अध्यक्ष राजकुमार यादवलगायतको उपस्थिति थियो ।

चार दलको छलफल झण्डै २ घण्टा चलेको थियो । बैठकमा बोल्ने दलका नेताहरुले गठबन्धन गर्ने विषयमा आ–आफ्ना पार्टीभित्र पनि छलफल गर्ने र सहमतिका साथ आउनुपर्ने बताएका थिए ।

‘अब छिट्टै अर्को बैठक बस्ने र सहमति गरेर निर्वाचनमा जाने विषयमा छलफल भएको छ,’ नेकपा एकीकृत समाजवादीका नेता रेग्मीले भने, ‘अब मोरङमा चारदलीय गठबन्धन हुने निश्चित भयो ।’

मकवानपुरमा पनि बस्यो गठबन्धनको बैठक

आगामी स्थानीय निर्वाचनलाई लक्षित गरेर मकवानपुरमा पनि सत्तारुढ गठबन्धनका दलहरुले छलफल सुरु गरेका छन् । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाका प्रतिनिधिहरु बीच शुक्रबारबाट औपचारिक छलफल सुरु भएको हो ।

शुक्रबार हेटौंडा–२ स्थित काँग्रेस पार्टी कार्यालयमा बसेको गठबन्धनमा आवद्ध दलका प्रतिनिधिहरुको बैठकले वडा तहसम्मै गठबन्धन कायम गर्ने सहमति गरेको नेपाली काँग्रेस मकवानपुरका सचिव भीमसेन महतले रातोपाटीलाई जानकारी दिए ।

मकवानपुर जिल्लामा १० स्थानीय तहका १०२ वटै वडाहरूमा गठबन्धन गरेर निर्वाचन लड्ने सहमति भएको उनले बताए । महतका अनुसार गठबन्धनमा आवद्ध दलहरुले सोही सहमतिका आधारमा वडा तहसम्म उम्मेदवारहरू उठाउने र त्यसका लागि वडा तहसम्मै गठबन्धनको छुट्टै संयन्त्र निर्माण गरी सचिवालयका रुपमा सञ्चालन गरिने छ ।

गठबन्धनको प्रभावकारिताको लागि नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका सर्केश घलान, नेकपा (एकीकृत समाजवादी) श्रीधर पोखरेल, जनता समाजवादी पार्टीका सोनामसिं स्याङ्तान र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सदस्य रहने गरी जिल्ला स्तरीय सचिवालय पनि निर्माण गरिएको छ ।

चितवनमा अझै अन्योल

स्थानीय तहको निर्वाचन नजिकिए पनि सर्वाधिक चासोका रुपमा हेरिएको चितवन जिल्लामा भने अहिलेसम्म गठबन्धनका बारेमा कुनै छलफल सुरु हुन सकेको छैन ।

केन्द्रीय तहमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय भए पनि त्यसबारेमा औपचारिक छलफल हुन नसकेको नेपाली काँग्रेस चितवनका सभापति रामेश्वर खनालले रातोपाटीलाई जानकारी दिए । उनले आगामी निर्वाचनलाई केन्द्रित गरेर गठबन्धनमा आवद्ध दलहरुबीच छिट्टै छलफल सुरु गर्ने योजना रहेको पनि बताए ।

तर, चितवनका काँग्रेसका आम कार्यकर्ताहरुको चाहना आगामी निर्वाचनमा एकल रुपमा जाने रहेकाले पनि छलफल हुन नसकेको खनालले बताए । चितवनमा पछिल्लो समय काँग्रेसको अवस्था बलियो भएकाले कार्यकर्ताहरुको चाहना एकलरुपमा जाने भन्ने भए पनि केन्द्रीय निर्देशनको पनि कार्यान्वयन गर्नुपर्ने खनालको भनाइ छ ।

गठबन्धनका अन्य दलहरु गठबन्धनका लागि तयार रहे पनि काँग्रेसले मुख्य भूमिका निर्वाह गर्नुपर्ने खनाल बताउँछन् । काँग्रेसले सबैमा नभए पनि केही स्थानीय तहमा भने गठबन्धन गर्न सक्ने उनले बताए । यसका लागि छिट्टै औपचारिक छलफल सुरु गरिने उनको भनाइ छ ।

पश्चिम नवलपरासीमा पनि गठबन्धनका कसरत सुरु

स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पनि चुनावी सरगर्मी तातेको छ । स्थानीय तहको चुनावका लागि केन्द्रीय स्तरबाटै गठबन्धनको कुरा आइरहँदा जिल्लामा पनि गठबन्धन पक्षधर दलहरुले थप सक्रियता बढाएका छन् ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजबादी पार्टी र राष्टिय जनमोर्चाबीच गठबन्धनका लागि छलफल प्रकृया अगाडि बढेको दलका नेताहरुले बताएका छन् ।

 नेपाली कांग्रेसका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले केन्द्रमा नेतृत्वबीच भएको सहमतिअनुसार नै जिल्लामा पनि गठबन्धनका लागि छलफल सुरु गरेको  रातोपाटीलाई बताए ।

पोखरेलका अनुसार अहिले वडा स्तरमा र पालिकाहरुमा मत सर्भेक्षण गर्नका लागि गठबन्धन निकट दलहरुका प्रतिनिधि समेटेर जिल्लास्तरीय कार्यदल निर्माण गर्ने तयारी भैरहेको छ । चैत्र २३ भित्र कार्यदलले तयार गरेको प्रतिवेदनका आधारमा सबैको सहमति जुटे गठबन्धन अगाडि बढ्ने उनले बताए । त्यसो हुन नसके दलहरुले आ–आफ्नै तरिकाले चुनावी अभियानलाई अगाडि बढाउने पोखरेलले बताए ।

यसैबीच, नवलपरासीमा नेकपा माओवादी केन्द्रले पनि सातवटै स्थानीय तहमा प्रारम्भिक मत सर्भेक्षण सुरु गरेको छ । माओवादीका  केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज घनश्याम यादवले गठबन्धनका लागि छलफल पनि अगाडि बढाएको बताए ।

केन्द्रको मर्म र भावनाअनुसार जिल्लामा पनि गठबन्धनको सोच बनेको र प्रत्येक पार्टीले आ–आफ्नो ईकाईको रेकर्ड ल्याएपछि सामुहिक रुपमा छलफल गर्ने यादवले रातोपाटीलाई बताए ।

जनता समाजवादी पार्टीले भने अहिले आफ्नो संगठन चुस्त दुरुस्त बनाउने काम गरिरहेको बताएको छ  । जसपा एक्लै पनि चुनाव लड्नका लागि तयार रहेको जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताए । उनले सम्मानजनक स्थितिमा मात्रै नवलपरासीमा गठबन्धन हुन सक्ने बताएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि जिल्लामा सम्मानजनक गठबन्धन हुनेमा आशावादी रहेको बताएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज बृहस्पति अधिकारीले नवलपरासीमा गठबन्धन नहुँदा पनि सबै पालिकामा नगर प्रमुख, उपप्रमुख र वडामा सबै पदमा उम्मेद्वार उठाउने तयारी भएको बताए ।

राष्ट्रिय जनमोर्चाले भने केन्द्रमा गठबन्धन दलभित्रै रहे पनि जिल्लामा आफूहरुलाई ठूला भनिएका दलले प्राथमिकता नदिएको गुनासो गरेको छ । जनमोर्चाका जिल्ला सचिव ढुण्डिराज पोखरेलले अहिलेसम्म गठबन्धनका लागि कुनै पार्टीसँग बसेर छलफल नभएको गुनासो गरे ।

लुम्बिनीमा कतै सहमति, कतै तथ्यांक संकलन

लुम्बिनी  प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरुले स्थानीय तहको निर्वाचनमा सहमतिका लागि अहिले आ–आफ्नो पार्टीको तल्लो स्तरबाट तथ्याङ्ग संकलन गरिरहेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी ,नेकपा एकीकृत समाजवादी र जनमोर्चाका प्रदेशस्तरका नेताहरुले गठबन्धनका लागि आ–आफ्नो पार्टीको विगतको मत र अहिले अवस्था अनि उम्मेदारको लोकप्रियता लगायतका विषयमा रेकर्ड संकलन गरिरहेको नेताहरुको भनाइ छ ।

अहिले आफ्नो पार्टीको  नगर तथा पालिकाको  अवस्थाबारे तथ्याङ्ग संकलन गरेर एक–दुई दिनमै बैठक बस्ने तयारी भइरहेको नेपाली काँग्रेस लुम्बिनीका प्रदेश सभापति अम्मर पुनले रातोपाटीलाई बताए । उनले लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा यसअघि नै जिल्ला स्तरबाट गठबन्धन गरेर जाने सहमति भइसकेको बताए ।

माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले एक चरण नेपाली काँग्रेससँग बैठक बसिसकेको र अब छिट्टै बस्ने बताए । उनले माओवादीले पनि तल्लो तहबाट  रेकर्ड मगाएको बताउँदै केही ठाउँबाट आइसकेको र केहीमा आउँदै गरेको खुलाए ।

तल्लो स्तरबाट मिलेर आए राम्रो हुने भन्दै समस्या आएमा त्यसलाई समाधान गर्नका लागि प्रदेशले पहल गर्ने बरालले बताए । उनले  भने, ‘अहिले  रेकर्ड सबै पार्टीले मगाएर आ–आफ्नो दाबी गर्ने र अन्तिममा कुन पालिका कसलाई, कुन पद कलाई दिने भन्ने फाइलन गर्छौं ।’

लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा एक महिना अगाडि नै ५ दलीय गठबन्धनले स्थानीयदेखि संघीय चुनावसम्मै तालमेल गर्ने निर्णय गरिसकेकोक छ । त्यहाँ संघसंस्थाहरु पनि तालमेल गरेर जाने निर्णय भएको छ । यस्तै गुल्मी, रुपन्देही लगायतका जिल्लामा पनि गठबन्धन गर्ने निर्णय जिल्ला स्तरबाटै भइसकेको छ ।

लुम्बिनी प्रदेशमा कुल १०९ स्थानीय तह छन् । जसमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका छन् । यीमध्ये ०७४ सालको निर्वाचनमा नेकपा एमाले ३ उपमहानगरपालिकासहित ४३ स्थानीय तहमा जित निकालेर पहिलो पार्टी बनेको थियो । नेपाली कांग्रेसले ३३, माओवादी केन्द्रले १९, संघीय समाजवादी फोरमले ६ र राष्ट्रिय जनमोर्चा, मधेसी जनाअधिकार फोरम र स्वतन्त्र उम्मेदवारले दुई–दुई स्थानमा जितेका थिए । राप्रपाले एक स्थानीय तहको प्रमुखमा जित निकालेको थियो ।  ०७४ सालमा केही स्थानमा बाहेक अन्यमा सबै दल एकल रूपमा चुनावी मैदानमा उत्रेका थिए  ।

विगतमा नेकपा माओवादी केन्द्र रुकुम पूर्व र रोल्पामा बलियो देखिएको थियो । माओवादी केन्द्रले रुकुम पूर्वका तीनवटै तहमा जित निकालेको थियो । संघीय समाजवादी फोरमले रुपन्देहीमा ३, कपिलवस्तुमा २ र बाँकेको १ स्थानीय तहमा जितेको थियो । राष्ट्रिय जनमोर्चाले प्यूठानका २ तहमा जित निकाल्दा राप्रपाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुखमा जित निकालेको थियो ।

केन्द्रको बाटो कुर्दै बाराका नेता

दुईवटा उपमहानगरपालिकासहित १६ वटा स्थानीय तह रहेको बारा जिल्लामा गठबन्धन दलका  जिल्ला अध्यक्षहरु केन्द्रको बाटो हेरेर बसेका छन् । केन्द्रवाट कुन पालिकामा कसरी गठबन्धन गर्ने भन्ने विषयमा आदेश नआएसम्म स्थानीय तहमा औपचारिक रुपमा कुनै छलफल नभएको जिल्ला नेताहरुले जनाएका छन् ।

नेपाली कांग्रेसमा बाराका जिल्ला सभापति राजेश राय यादवले गठबन्धनको विषयमा जिल्ला तहमा कुनै छलफल नभएको बताए । उनले भने, ‘हाम्रो जिल्लामा स्थानीय नेताहरुबीच कुनै छलफल भएको छैन्, हामी केन्द्रका नेताहरुको मुख ताकेर बसेका छौं ।’

निर्वाचनलाई केन्द्रित गरेर दलहरुले आ–आफ्ना टोल, वडा, नगर भेला एवं पार्टी प्रवेशलगायतका कार्यक्रहरु गरिरहेका छन् । तर, औपचारिकरुपमा गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष अजय पटेलले रातोपाटीलाई बताए । उनले भने, ‘हाम्रो पार्टीका तर्फबाट उम्मेद्वार टुंगो लगाइसकेका छौं । तर, गठबन्धन सरकार भएका कारण अवस्था के हुन्छ भनेर नामावली सार्वजनिक गरेका छैनौं । सबै दलहरु केन्द्रको निर्णयका आधारमा उम्मेद्वार टुंगो लगाउने भनेर बसेका छन् ।’

जसपा अध्यक्ष पटेलले विगतको निर्वाचनमा बढी मत ल्याएका पालिकाहरुमा आफ्नो पार्टीले मेयरकोे दावी गर्ने बताए । ‘पचरौता, सुर्वणपुर, देवताल, करैयामाई गाँउपालिकामा प्रमुखको दावी रहने उनले बताए ।

२०७४ को निर्वाचनमा जिल्लामा ४४ हजार मत ल्याएको  नेकपा माओवादी केन्द्रले पनि पार्टीभित्र आन्तरिक रुपमा छलफल चलाए पनि केन्द्रको निर्णय आएपछि मात्रै उम्मेद्वारको टुंगोे लगाउने जनाएको छ । माओवादीे केन्द्रका जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ (अनिल) ले केन्द्रबाट निर्णय भएर नआएसम्म स्थानीय तहमा गठबन्धन कसरी गर्ने भन्ने बिषयमा छलफल नभएको बताए ।

उनले भने, ‘गठबन्धन भन्ने बित्तिकै त्यसको मर्म र भावना राष्ट्र र संविधानसँग जोडिएकाले एकले अर्काको अस्तित्व स्वीकार गरेर जानुपर्छ, भनेरै यस विषयमा हाम्रो तहबाट औपचारिकरुपमा कुनै छलफल भएको छैन, माथिको निर्णयका आधारमा नै अगाडि बढ्ने हो ।’ 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: