भरतपुरको मेयर नपाए एकल निर्वाचनमा जानुपर्ने कांग्रेस चितवनको निर्णय

भरतपुरको मेयर नपाए एकल निर्वाचनमा जानुपर्ने कांग्रेस चितवनको निर्णय

0Shares

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर पद नछाड्ने निर्णय गरेको छ। 

सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरिसकेको अवस्थामा बसेको जिल्ला समितिको बैठकले भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेसले दाबी नछाड्ने निर्णय गरेको हो।

जिल्ला सभापति राजेश्वर खनालले नेपाली कांग्रेसले मेयर पद नपाउने अवस्थामा एकल निर्वाचनमा जानुपर्ने निर्णय जिल्ला समितिले गरेको बताए।

केही दिनअघि भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरको मेयरमा पार्टीको दाबी रहने बताएका थिए। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले माओवादीकी उम्मेद्वार रेनु दाहाललाई समर्थन गरेको थियो।

दाहालले नेकपा एमालेका उम्मेदवार देवि ज्ञवालीलाई हराएकी थिइन्। त्यतिखेर मेयर पदमा उम्मेद्वारी दर्ता गरिसकेका दिनेश कोइरालालाई फिर्ता गरेर नेपाली कांग्रेसले केन्द्रबाटै माओवादीसँग तालमेल गरेको थियो। 

दाहालले यसपाली पनि सत्तारूढ गठबन्धनको बैठकले महानगरपालिकामा तालमेलको निर्णय गर्ने दाबी गरेका थिए। माओवादी पार्टी पुनः एक पटक रेनु दाहाललाई नै भरतपुरको मेयरमा दोहोर्‍याउनुपर्ने पक्षमा छ।

चितवनका कांग्रेस कार्यकर्ताहरूले भने आगामी निर्वाचनमा रूखमा भोट हाल्न पाउनुपर्ने भन्दै नेतालाई दबाब दिँदै आएका छन्। 

कांग्रेसका महामन्त्री गगन थापाले केही हप्ता पहिले भरतपुरमा भएको एक कार्यक्रममा कार्यकर्ताहरूले रूखमै भोट हाल्न पाउनुपर्ने भनेर राखेको आकांक्षाको पार्टीले सम्मान गर्ने बताएका थिए। यहाँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले पनि भरतपुरको मेयर पद कांग्रेसले छाड्न नहुने अडान केन्द्रीय समितिको बैठकमा राख्दै आएका छन्।

जिल्ला सभापति खनालले जिल्लाका अन्य स्थानीय तहको हकमा भने तालमेल गरेर जाने निर्णय भएको जानकारी दिए।

‘स्थानीय तहमै छुट्टाछुट्टै संयन्त्र तयार गरेर तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ,’ उनले भने, ‘भरतपुर महानगरबाहेकका स्थानीय तहका मेयरको विषयमा बैठकले निर्णय गरेको छैन। गठबन्धन दलहरूका बीचमा तालमेल गर्ने निर्णय भएको छ।’प्रकाशित मिति: आइतबार, चैत २०, २०७८, १८:४०:००2.7kShares

facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *