एमाले एक्लै चुनाव लड्छ, माओवादी केन्द्रसँग तालमेल गर्दैन

एमाले एक्लै चुनाव लड्छ, माओवादी केन्द्रसँग तालमेल गर्दैन

0Shares

चुनावी तालमेलका लागि एमालेले प्रस्ताव गरेको माओवादी केन्द्रका नेताहरुको दाबीप्रति उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाएका छन् । एमालेले एक्लै चुनाव लड्ने उनको दाबी छ ।

चुनावी तालमेलका लागि एमालेले प्रस्ताव गरेको माओवादी केन्द्रका नेताहरुको दाबीप्रति उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाएका छन् । एमालेले एक्लै चुनाव लड्ने उनको दाबी छ ।

एमालेसित वार्ता छलफल भइरहेको छ भन्ने प्रचार गरेर माओवादीले अन्तै बार्गेनिङ गर्न खोजेको भन्दै उनले भने, ‘एमालेले माओवादीका नेता या कार्यकर्तासँग औपचारिक या अनौपचारिक रुपमा कुनै पनि प्रकारको छलफल गरेको छैन । छलफल गर्नुपर्ने आवश्यकता पनि देखेको छैन ।’

स्थानीय मात्र होइन, प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमालेले माओवादी केन्द्रसँग तालमेल नगर्ने उनको दाबी छ ।

प्रस्तुत छ, एमाले उपाध्यक्ष विष्णु पौडेलसँग अनलाइनखबरकर्मी बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय चुनावको तयारी कस्तो भइरहेको छ ?

निर्वाचनसम्बन्धी तयारी व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढिरेहको छ । ७५३ वटै पालिकामा निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेका छौं । मतदाता नामावली र उम्मेदवारको विश्लेषण गरिरहेका छौं । घोषणापत्र तथा प्रतिबद्धता पत्रको तयारी अन्तिम चरणमा पुर्‍याएका छौं, उम्मेदवार चयनका प्रक्रिया अगाडि बढेका छन् । नोमिनेसनपछि हामी प्रचारमा केन्द्रित हुन्छौं ।

एमालेको सिंगो पंक्ति विगतमा आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामको विवरण र आउने दिनहरुमा गर्ने कामको प्रतिबद्धता लिएर जनतामाझ जान्छौं । हामी यो निर्वाचनमा सानदार सफलतातर्फ उन्मुख छौं । पालिकाका पदाधिकारी र सदस्यहरुमा ७० प्रतिशत जित्छौं । प्रतिकुलता थपियो भने पनि न्यूनतम ६० प्रतिशत पालिकाहरुमा पदाधिकारी र सदस्य जित्छौं ।एमालेले तालमेलका निम्ति कसैसँग कुनै प्रकारको औपचारिक या अनौपचारिक कुराकानी गरेका छैनौं ।यसपटकको चुनावमा एमाले एक्लै लड्छ, सानदार सफलता प्राप्त गर्छ पनि

विरासत राम्रो भएपनि वर्तमान त राम्रो छैन । पार्टी फुटेको छ, यस्तो बेला तपाईंले भनेको परिणाम त कसरी आउला ?

फुटेको होइन, पार्टीको सुकेको बोक्रा उप्केको हो । रुखमा सुकेका बोक्राहरु उप्किछन् । बुढा पातहरु झर्छन् । त्यस्ता मात्रै हो । विचार, संगठन र जनतामा परेको प्रभावका हिसाबले नेकपा एमाले फुटेको छैन ।

अर्को, अहिले विभिन्न राजनीतिक दलबाट कार्यकर्ता, सांसद, स्थानीय जनप्रतिनिधिहरुको नेकपा एमाले प्रवेशको असाधारण लहर चलेको छ । त्यसैले आउने निर्वाचनमा ०७४ सालको स्थानीय निर्वाचन भन्दा गुणात्मक उचाइबाट सफलता हाँसिल गर्छाैं । जहाँसम्म सरकारबाट बाहिरिएको प्रशंग छ, हामीले सरकार बाहिर रहँदै चुनाव जितेका छौं । नेकपा एमालेलाई चुनाव जित्न सत्ता वा सरकार चाहिँदैन । ०७४ सालको स्थानीय निर्वाचनमा पनि एमाले प्रतिपक्षमा थियो, कांग्रेसको नेतृत्वमा सरकार थियो । एमालेविरुद्ध गठबन्धन गरेका थिए । एमाले एक्लै लड्यो, जित हासिल गर्यो, सरकारमा रहेर गठबन्धन गरेकाहरु पराजित भएका थिए ।

सुकेका बोक्रा, झरेका पात भन्ने, उनीहरुसँगै तालमेल गरौं भनेर छलफल गरिरहने ? यो त द्वैध चरित्र भयो नि ?

यसपटकको चुनावमा एमाले एक्लै लड्छ, सानदार सफलता प्राप्त गर्छ पनि । एमालेले तालमेलका निम्ति कुनै छलफल आरम्भ गरेको छैन । कसैसँग कुनै प्रकारको औपचारिक या अनौपचारिक कुराकानी पनि गरेका छैनौं । तालमलेका निम्ति कुराकानी गर्ने मुडमा पनि छैन एमाले ।

एमाले नेताहरुले नै मिलेर चुनाव लडौं भनिरहेका छन् भनेर माओवादी केन्द्रका नेताहरुले भनिरहेका छन् त ?

उहाँहरुले किन गतल सूचना संप्रेषण गर्नुभएको छ थाहा छैन । एमालेले नेकपा माओवादी केन्द्रसँग चुनावमा तालमेल गर्ने प्रयोजनका लागि औपचारिक या अनौपचारिक रुपमा कुनै पनि तहमा सम्वाद गरेको छैन । म प्रष्ट भन्न चाहन्छु, सम्वाद गर्नुपर्ने आवश्यकता पनि देखेको छैन । किनकी यो निर्वाचनमा माओवादी केन्द्रसँग नेकपा एमालेको कुनै पनि तालमेल हुँदैन ।

त्यसो भए माओवादी केन्द्रका नेताहरले गरेको छलफल केका लागि हो त ?

छलफल भएको छ भन्ने प्रचार नै गलत छ । एमालेले माओवादीका नेता या कार्यकर्तासँग औपचारिक या अनौपचारिक रुपमा कुनै पनि प्रकारको छलफल गरेको छैन । छलफल गर्नुपर्ने आवश्यकता देखेको छैन, चुनावी तालमेलको त सम्भावनै छैन । एमालेले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दैन ।

तपाईंहरुको तर्फबाट नभए पनि माओवादी केन्द्रको तर्फबाट चाहिँ भएको हो कि त ?

नजर कहीं, निशाना कहीं भन्छन् नि ! एमालेसित वार्ता छलफल भइरहेको छ भन्ने समाचार सम्प्रेषण गरेर कहीं कतै बार्गेनिङ गर्दै हुनुहुन्छ सायद । एमसीसी पास हुनुअघि पनि त्यस्तै गर्नुभएको थियो ।माओवादी केन्द्रका नेताहरुले नेकपाको शक्तिशाली सरकार सरकार गिराएर जुन प्रकारको कामकारबाही गर्नु भएको छ, यसबाट उहाँले गठबन्धन निर्माण गर्नुका उदेश्य स्पष्ट छ । यस्तो अवस्थामा उहाँहरुसँग वार्ता वा सहमतिको कुनै सम्भावना छैन ।

तपाईंहरु चीन जानुभयो, माओवादी केन्द्रका नेता देव गुरुङ पनि जानुभयो । त्यहाँबाट फर्किएपछि वाम तालमेलको चर्चा भइरहेको छ । कुनै आधार नभई त्यसै चर्चा भएको होला र ?

हामी चीन किन र के प्रयोजनका लागि गयौं भन्ने स्पष्टसँग भनेकै छु । आर्थिकसम्बन्धी कार्यक्रममा भाग लिन हामी गएका थियौं । भाग लियौं र आयौं । यसको माओवादीसित तालमेलसँग यसको कुनै सम्बन्ध छैन, अर्थ पनि छैन ।

उहाँहरुले त मिल्ने नमिल्ने हाम्रो कुरा हो, तर चीनले एकता होस् भन्ने सद्भाव राखेको छ भन्नु भएको छ त ?

नेकपा एमाले स्वतन्त्र ढंगले विचार निर्माण गर्ने पार्टी हो । नेकपा एमाले आफ्ना बारेमा स्वतन्त्र ढंगले आफैं लिन्छ । कुनै मित्र वा छिमेकी राट्रको सहयोग लिएर निर्णय गर्छौं भन्ने होइन । एमालेलाई अरु कसैको सल्लाह लिनुपर्ने आवश्यकता पर्दैन ।

उहाँहरुले नै सल्लाह लिनुहुन्छ होला, त्यस्तो आवश्यकता महसुस गर्नुहुन्छ होला । तर नेकपा एमाले अरु कसैको सल्लाहमा चल्ने पार्टी होइन । स्वतन्त्र निर्णय र स्वतन्त्र विश्लेषणका आधारमा आवश्यक निर्णय गर्दै अगाडि बढ्ने पार्टी हो ।

सत्ता गठबन्धनको बैठकमा पनि माओवादी केन्द्रका अध्यक्षले एमाले नेताहरुसँग कुराकानी भइरहेको छ भन्नुभयो, वर्षमान पुनले पनि त्यही खालको कुरा गर्नुभएको छ । तपाईंको कुरा फरक आयो, खासमा भएको के हो ?

मेरो जानकारीमा भएसम्म एमालेसँग कुनै पनि प्रकारको वार्ता र सम्वाद भएको छैन । वार्ता सम्वादको सम्भवाना पनि देख्दिनँ । किनकी वार्ता सम्वादबाट कुनै निष्कर्ष निस्कने सम्भावना छैन ।

स्थानीय तहभन्दा पछाडि चाहिँ एकता वा तालमेलको सम्भावना छ ?यस्तो अवस्थामा उहाँहरुले एमालेसँग वार्ता भएको छ भन्ने प्रचार गर्नुको अर्थ र उद्देश्य के हो त्यो त हामीले पनि बुझ्न सकिरहेका छैनौं ।

माओवादी केन्द्रका नेताहरुले नेपालमा कम्युनिष्ट पार्टी (नेकपा) को (झण्डै दुई तिहाईको) शक्तिशाली सरकार सरकार गिराएर जुन प्रकारको गठबन्धन गर्न योगदान गर्न पुग्नुभएको छ । त्यो सरकारविरुद्ध जुन प्रकारको कामकारबाही गर्नु भएको छ, यसबाट उहाँले गठबन्धन निर्माण गर्नुका उदेश्य स्पष्ट छ । यस्तो अवस्थामा उहाँहरुसँग वार्ता वा सहमतिको कुनै सम्भावना छैन । यो स्थानीय तह चुनावमा पनि छैन, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि छैन ।

कतिपय स्थानमा कांग्रेससँग चाहिँ तालमेल हुनसक्छ ?

यो निर्वाचन भइरहँदा मैले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको कुरा गरिरहेको छु । यी सबै निर्वाचनमा नेकपा एमाले एक्लै निर्वाचन लड्छ, एक्लै बहुमत प्राप्त गर्छ । एक्लै सरकारको नेतृत्व गर्ने हैसियतमा जनताबाट अनुमोदित हुन्छ ।

०६४ मा पनि त्यही भन्दा एमाले तेस्रो दल बन्यो । त्यसैले अहिले बाहिर चर्को कुरा गरेपनि भित्रभित्र हामीसँग तालमेलका लागि इच्छुक छ भन्छन् नि माओवादी नेताहरु ?

निर्वाचन २०६४ मा मात्रै भएको थिएन । त्यसपछि पनि निर्वाचन भएका छन् । हरेक निर्वाचनका आ–आफ्ना अनुभव छन् । अहिले दक्षिणपन्थी, यथास्थितिवादीको पछाडि लागेको, त्यसलाई काँध दिइरहेको माओवादीसँग सम्वाद र चुनावी तालमेलको कुनै सम्भावना छैन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *