सात थरी स्वाद पाइने ‘पानीपुरी बार’, मासिक डेढ लाखको कारोबार

सात थरी स्वाद पाइने ‘पानीपुरी बार’, मासिक डेढ लाखको कारोबार

0Shares

पानीपुरी! सुन्ने बित्तिकै यसका पारखीको मुख नरसाई छाड्दैन। इम्ली, धनियाँ र खुर्सानीको अमिलो झोलकै सम्झनाले पारखीहरूको मुख रसाउँछ। 

तर जहाँ पुगेर खाए पनि स्वाद उही! पारा उही!

यो स्वादमा केही फरक भए हुन्थ्यो भन्ने लागेको छ भने अब विकल्प छ। काठमाडौंका पारखीहरू ‘पानीपुरी बार’ जान सक्छन्।

यो पानीपुरी बार कपनमा छ। चाबहिलको गोपीकृष्ण हल हुँदै सरस्वतीनगर पुग्नुपर्छ। त्यहाँ सिटिजन्स बैंक रहेको भवनको भुइँतलामा सानो सटर छ। त्यहीँ हो!

यहाँ सात किसिमको स्वादमा पानीपुरी खान पाइन्छ। आफूलाई मन पर्ने वा चाख्न मन लागेको स्वादको झोल आफ्नै हातले बटन थिचेर स्वचालित मेसिनबाट पानीपुरीमा भरेर खाए हुन्छ। बिक्रेताका अगाडि प्लेट बोकेर उभिनुपर्दैन। 

यो बार चलाएका हुन् २७ वर्षीय दामोदर बस्यालले। उनका अनुसार बारमा धनियाँ, पुदिना, कागती, अदुवा, तामा, इम्ली र मिठापानको स्वादमा पानीपुरी खान पाइन्छ।

‘ग्राहकलाई जुन फ्लेभर (स्वाद) मनपर्छ त्यही खाना पाउने सुविधा छ,’ दामोदर भन्छन्, ‘ग्राहक आफैंले रोजेर एउटै डिजिटल बोर्डमा बटन थिचेर सात थरी स्वादमा पानीपुरी खान सक्छन्।’ 

सबै स्वादको झोल बनाउने काम मेसिनभित्रै हुन्छ। मेसिनमा तीनवटा डिजिटल बोर्ड छन्। ग्राहकले आफूलाई कुन स्वादको झोल मन पर्छ, त्यहीँ औंलाले छोएपछि आफैं झोल झर्छ। पुरी पाइपको मुखमै लगेपछि झोल दुई सेकेन्डसम्म आइरहन्छ र पुरी भरिन्छ। त्यसपछि आफैं बन्द हुन्छ। अर्को स्वाद लिन बोर्डमा देखिएको अर्को चिह्नमा छुनुपर्छ।

मेसिनको सफाइ र परिकारको गुणस्तरमा पूर्ण ध्यान दिएको दामोदरको भनाइ छ। 

पानीपुरी बार सुरू गरेको छ महिना मात्र भयो। दामोदरका अनुसार ग्राहकले सबभन्दा बढी धनियाँको स्वाद रूचाएका छन्। पहिलो पटक आउने ग्राहकले सबै स्वाद चाख्छन्। दोहोर्‍याएर आउनेले धनियाँ र खट्टामिठा (अमिला–गुलियो) मन पराएका छन्। 

‘मसलेदार र पिरो रूचाउने ग्राहकले पनि आफ्नो इच्छा पूरा गर्न पाउँछन्,’ उनले भने, ‘पानीपुरीको स्वादसँगै मसलाको मात्रा पनि डिजिटल रूपमै थाहा हुन्छ। धेरै पिरो, ठिक्क पिरो र थोरै पिरो, जुन खाने हो त्यहीअनुसार मेसिनले दिन्छ।’

उभिएर खाने कि कुर्सी टेबलमा बसेर, मुडामा बसेर खाए पनि हुन्छ! तर धेरैजसो उभिएरै खान मन पराउने दामोदरले बताए।

सुरूमा यहाँ पानीपुरी मात्र पाइन्थ्यो। उनले बिस्तारै अरू परिकार थप्दै लगे। अहिले यहाँ पानीपुरीसँगै दहीपुरी, चकलेटपुरी, पापडी चाट र चटपटे पाइन्छ। चकलेटपुरी नयाँ स्वाद हो। पिरो र अमिलोको स्वादमा चकलेटी गुलियो धेरैको रोजाइमा परेको छ। सामान्य पुरीमा आलुमसला राखेजस्तै यसमा क्रिम चक्लेट र मिठा पानको स्वाद हुन्छ।

सबैभन्दा राम्रो व्यापार भने ५० रूपैयाँ प्लेट पर्ने पानीपुरीकै छ।

पानीपुरी मात्रै दैनिक सरदर पाँच हजार रूपैयाँको बिक्री हुन्छ,’ उनले भने, ‘चकलेटपुरी, चाट, चटपटेको व्यापार पनि राम्रो छ। मासिक डेढ लाख रूपैयाँको कारोबार हुन्छ।’

दामोदरले काठमाडौं युनिभर्सिटीको स्कुल अफ म्यानेजमेन्टबाट एमबिए गरेका छन्। उनको समय पानीपुरी बारमा मात्र खर्च हुँदैन। उनी ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा छ वर्षदेखि जागिरे छन्।

पढे-लेखेका जागिरे छोराले पानीपुरीको व्यापार गर्छु भन्दा दामोदरका ६२ वर्षे बुबा वासुदेव सुरूमा अचम्म परेका थिए। तर जागिर छँदैछ, व्यवसाय गर्छु भन्छ भने गरोस् न त भन्ने ठाने। 

अहिले बुबा नै दामोदरका सबभन्दा भरपर्दा सहयोगी भएका छन्। व्यापार चम्केको देखेर खुसी छन्।

भन्छन्, ‘पानीपुरी बेच्ने काम त नपढेकाले पो गर्ने हो भन्ने लाग्थ्यो। एमबिए पढेको मेरो छोराले थाल्यो। मैले पनि काम पाएको छु।’ 

उनलाई छोराले ल्याएको प्रविधिमा नयाँ तरिकाले पानीपुरी बेच्न निकै रमाइलो लागेको छ। 

‘मैले त यति राम्रो व्यापार होला भन्ने सोचेको पनि थिइनँ,’ उनले भने।

वासुदेव बिहान मसला, पुरीलगायत चाहिने सबै सामग्री तयार गर्छन्। अपराह्न दुई बजे पसल पुग्छन्। फर्किँदा राति आठ बज्छ।

‘पुरीमा मसला राखेर दिन्छु। झोल बनाउने काम सबै मेसिनले गरिहाल्छ,’ मेसिनतिर देखाउँदै वासुदेवले भने, ‘अहिलेसम्म कुनै समस्या परेको छैन।’ 

दामोदरलाई पानीपुरी बेच्ने सोच स्नातकोत्तर पढ्दाताका नै आएको थियो। उनी एकपटक एउटा शैक्षिक समारोहमा सहभागी हुन भारतको गाजियाबाद गएका थिए। साँझतिर घुम्न निस्किँदा पानीपुरी बेच्दै गरेको एउटा ठेलाको छेउमा पुगे। 

ठेलामै व्यापार भए पनि विभिन्न फ्लेभर थियो। पानीपुरीको यति व्यवस्थित व्यवसायले उनको ध्यान तान्यो। फर्केपछि उनलाई पनि त्यस्तै फ्लेभरको पानीपुरी व्यापारबारे चासो भयो। तर त्यहाँ देखेभन्दा फरक किसिमको प्रविधिमा आधारित मेसिनमार्फत कसरी पानीपुरी व्यवसाय गर्न सकिन्छ भनेर बुझ्न थाले। 

‘त्यस्तो मेसिन यहाँ कसरी उपयोगी हुन सक्छ, कसरी प्रयोग गर्ने भन्ने पनि खोजी गरेँ,’ उनी भन्छन्, ‘एउटै मेसिनबाट फरक फरक स्वादमा पानीपुरी खुवाउन केही परिमार्जन आवश्यक हुने रहेछ।’

गाजियाबाद जाने समूहमै रहेकी साथी सुप्रिमा पौडेलले पनि दामोदरलाई साथ दिइन्।

सन् २०१९ को अन्तिमतिर दामोदरले मेसिनका पाटपुर्जा र अरू आवश्यक सामान भारत र चीनबाट मगाए। सामान आउनुअघि स्वादहरू खोजी गरे। उनी सात किसिमको स्वाद राख्ने निष्कर्षमा पुगे। 

स्वादको निर्णय भयो, नाम जुर्‍यो ‘पानीपुरी बार’।

तर यही बीचमा लकडाउन भइदियो। त्यही बेला उनले मेसिनको काम थाले। स्वादको किसिमअनुसार मेसिन मिलाउनु पर्थ्यो। घरमै बसेर जोड्न र मिलाउन थाले। लकडाउनको समय उनी यही काममा व्यस्त भए।

‘मेसिनका पार्टपुर्जा कहाँ कसरी मिलाएर राख्ने भन्नेमै धेरै समय लाग्यो। सेन्सरमा आधारित बनाउने भएपछि बोर्ड स्क्रिनटच हुनुपर्‍यो। कम्प्युटर सिस्टमबाटै चल्ने बनाउनुपर्‍यो,’ उनले भने।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: