टेलिकम र एनसेललाई निर्देशन : केवाईसी रुजु नगरी सिमकार्ड नदिनू

टेलिकम र एनसेललाई निर्देशन : केवाईसी रुजु नगरी सिमकार्ड नदिनू

0Shares

स्थानीय तहको चुनाव नजिकिँदै जाँदा मोबाइल फोनको सिमकार्ड/रिमकार्डको दुरुपयोग बढ्ने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्रदायक (नेपाल टेलिकम र एनसेल)लाई सतर्क गराएको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले निर्देशन र नियमअनुसार ग्राहकलाई रितपूर्वक फारम (केवाईसी) भर्न लगाई,  विवरणहरू रुजु गरेर मात्र सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

आफ्नो वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड/रिमकार्ड खरिद गर्न प्राधिकरणले ग्राहकलाई पनि अनुरोध गरेको छ । ग्राहकले भर्नुपर्ने फारम (केवाईसी) रितपूर्वक नभरी र नियम अनुसार कागजात रुजु नगरी सेवा प्रदायकहरूबाट सिमकार्ड/रिमकार्ड बिक्री वितरण भइरहेको भन्ने बुझिन आएकोले यस्तो सूचना प्रकाशित गरेको प्राधिकरण अनुगमन महाशाखाका प्रमुख विजय कुमार रोयले बताए ।

‘चुनाव आउने बेला सिमकार्डको दुरुपयोग बढ्ने गरेको छ,’ उनले भने, ‘हामीलाई अहिले नै यस्ता गुनासा आउन थालेका छन् । अरूको कागजपत्र प्रयोग गरेर सिमकार्ड निकाल्ने र त्यसबाट मतदातालाई डर/धम्की दिने गरिँदो रहेछ ।’ उनले ग्राहकलाई पनि यसबारे सचेत रहन सुझाव दिएका छन् । रोयका अनुसार प्राधिकरणले अब समिति बनाएर यसबारे अध्ययन गरी मासिक रिपोर्ट तयार पार्नेछ ।

‘आवश्यक कागजपत्र रुजु नै नगरी सेवा प्रदायकले आफ्ना विभिन्न पोइन्ट अफ सेलबाट जो–कसैलाई सहजै सिमकार्ड/रिमकार्ड उपलब्ध गराउने गरेको गुनासो हामीलाई प्राप्त भएको छ,’ रोयले भने, ‘नेपाल टेलिकम र एनसेल दुवै सेवा प्रदायकका सिमकार्ड/रिमकार्डमा यस्ता गुनासो आएका छन् ।’ निर्देशन र नियमानुसार केवाईसी नभरी वा विवरणहरू रुजु नगरी प्रदायकले सिमकार्ड/रिमकार्ड बिक्री वितरण गरेको पाइएमा प्राधिरकणले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाही हुने जानकारी गराएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: