गत मंसिर १९ गते चौथो राष्ट्रिय बाघ गणना सुरु भएर फागुन २८ गते सकिएको छ । चितवन–पर्सा कम्प्लेक्सबाट सुरु भएको गणना शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्समा पुगेर सकिएको थियो । सरकारले अगामी साउन १३ गते विश्व बाघ दिवसको अवसर पारेर बाघ गणनाको नतिजाको सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

बाघ गणनामा विभागले सन् २०१८को गणनामा जसरी नै ‘टाइगर एन्ड प्रे बेस मोनिटरिङ प्रोटोकोल, २०१७’ ले निर्देष्टि गरे अनुसार क्यामेरा ट्रायापिङ र ‘अकुपेन्सी सर्भे विधि’ अपनाएर बाघको गणना गरेको थियो । गणना सुरु भएको केही समयमा नै चितवन–पर्सा कम्प्लेक्सको बढनिहार र मनवा इलकाका वन कार्यालय क्षेत्रमा जडान गरिएका ६ वटा क्यामेरा ट्रयाप चोरी भएको घटना सार्वजनिक भयो । यस्तै, बाँके–बर्दिया कम्प्लेक्समा गणना सुरु भएको १५ दिनमै ‘ए’ ब्लकमा ९ वटा र सी ब्लकमा ४/४ वटा क्यामेरा हराएका घटना सार्वजनिक भयो । ६ वटा क्यामेरा हात्तीले क्षतिले पुर्याएको भन्दै विवरणहरु सार्वजनिक भएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन–पर्सा,बाँके–बर्दिया र शुक्ला–लालझाडी–जोगबुढा गरी तीन वटा कम्प्लेक्स निर्माण गरेर बाघ गणना गरेको थियो । बाघ गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष,डब्लूडब्लू एफ, जुलोजिकल सोसाइटी अफ लन्डन(जेडएसएल)लगायतका संस्था संलग्न छन् ।

गण्नाका क्रममा हरेक कम्प्लेक्सलाई २ वर्ग किलोमिटरको एउटा ग्रिडमा विभाजन गरेर प्रत्येक ग्रिडमा एक जोडी क्यामेरा ट्रयाप राखिएको थियो । चितवन–पर्सालाई ८६८, बाँके–बर्दियालाई ७१९ र शुक्ला–लालझाढी–जोगबुढालाई २५४ वटा ग्रिडमा विभाजन गरिएको थियो । बाघ गणनामा विभागले आफूसँग भएको र दाताबाट प्राप्त ६५० जोडी क्यामेरा बाघ गणनामा प्रयोग गरेको प्रवक्ता दिलबहादुर पुनले जानकारी दिए । हरेक ग्रिडमा १५ दिनसम्म क्यामेरा राखिएको थियो । चितवन –पर्सा कम्प्लेक्समा ७ वटा हात्ती, बाँके–बर्दिया कम्प्लेक्समा ३ वटा र शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्समा ३ वटा हात्तीहरु गणनामा प्रयोग भएका थिए ।
लोपन्मुख प्रजातिमा सूचिकृत मांसाहारी जीव बाघको हरेक पाटा विशेष हुन्छन् । एउटा बाघको पाटा अर्कोसँग मिल्दैन । यही पाटाको आधारमा बाघको पहिचान गरिन्छ । यसका लागि क्यामेरा ट्रयाप प्रयोग गरिने एनटीएनसीका चितवन प्रमुख एवं अनुसन्धानकर्ता बाबुराम लामिछानेले बताउँछन् । बाघ ओहोरदोहर गर्ने सम्भावित क्षेत्र, बाघ हिँडेका स्थानमा देखिने संकेत चिन्हको आधारमा हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिएका थिए । स्वचालित क्यामेराले केही चिज नजिक आउने बित्तिकै तस्बिर खिच्छ ।
बाघ गणनामा कडब्याक(सी–१) क्यामेरा र पेन्थेरा(भी ५ र भी६) प्रयोग गरिएको थियो । एक पटकमा यी क्यामेराले ३ वटा तस्बिरहरु खिच्छन् । क्यामेरा जडान गरिएको ठाउँ अगाडि हलचल हुने बित्तिकै स्वचालित रुपमा तस्बिर खिच्छ । एउटा क्यामेरमा ४ देखि ३२ जीबीसम्मको डाटा स्टोरोज भएको क्षमता रहेको पुनले जानकारी दिए । बाघ गणनाका क्रममा ती क्यामेरामा हप्तामा दुई पटकसम्म निगरानी गरिन्थ्यो ।
पेन्थेरा भी–५ र भी–६ मोडलका क्यामेरा किन्न पाइदैन । यो पेन्थारा संस्था आफैंले अनुसन्धान प्रयोजनका लागि निर्माण गरेको क्यामेरा हो । बिक्री वितरणमा भन्दा यी क्यामेरा प्रयोग गर्नका लागि विभिन्न संस्थाहरुले उपलब्ध गराउँछन् । कम्पनीले एउटा क्यामेरा निर्माण गर्दा एक सय ५० डलर खर्च लाग्ने आफ्नो वेबसाइटमा राखेको छ । कडब्याकका विभिन्न मोडलहरुको मूल्य सय डलरदेखि सुरु हुन्छ । बाघ गणनामा प्रयोग हुने क्यामेरा महत्वपूर्ण मानिन्छन् ।
१८२ वटा क्यामेरा हराए
चौथो राष्ट्रिय बाघ गणनाका क्रममा १८२ वटा क्यामेरा हराएको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणना क्रममा १८२ वटा क्यामेरा हराएको जनाएको हो । प्रवक्ता पुनका अनुसार चितवन–पर्सा क्षेत्रबाट सबैभन्दा बढी क्यामेरा हराएका छन् । यो कम्प्लेक्सबाट १२० वटा क्यामेरा हराएका हुन् । बाँके–बर्दिया कम्प्लेक्सबाट ४९ र शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्सबाट १३ वटा क्यामेरा हराएको विभागले जनाएको छ । क्यामेरा चोरी हुने,हराउने विविध कारणले भएको विभागले जनाएको छ । प्रवक्ता पुनका अनुसार क्यामेरा राखिएको स्थान हुँदा जाँदा फ्लास बल्दा तस्बिर खिच्ने र त्यसैको डरले मानिसहरुले फुटाउने र घर लैजाने गरेको पाइएको थियो । यस्तै, वन्यजन्तुले कुल्चने,बाघले टोकेर फालेको अवस्था, भालुले तान्न खोजेको जस्ता घटनाहरु गणना क्रममा भेटिएको एनटीएनसीका अनुसन्धानकर्ता लामिछानेले कान्तिपुरलाई बताए ।
राखिएको स्थानबाट हराएका वा चोरी भएका क्यामेराहरु अनुसन्धान प्रायोजनका लागि मात्रै प्रयोग हुने लामिछानेले बताए । चोरी भएका अधिकांश क्यामेराहरु कोर क्षेत्रभन्दा बाहिर हराएको विभागले जनाएको छ ।
क्यामेरा हराएका स्थानबाट अर्को क्यामेरा प्रयोग नगरिएको विभागले जनाएको छ । यसरी क्यामेरा हराउँदा गणनामा तथ्यांक विश्लेषण गर्दा असर गर्ला नि भन्ने प्रश्नमा विभागका इकोलोजिस्ट गणेश पन्तले त्रुटिहरुलाई समेट्ने बताए । क्यामेरा ट्रयाप राख्ने बेलामा थप क्यामेराहरु पनि राखिएकाले त्रुटीहरु धेरै ननिस्किने उनले जानकारी दिए । ‘अहिले कुन ठाउँमा, कहिले र कहाँ चोरी भएको तथ्यांक विश्लेषण गरेर त्रुटीहरु समावेश गर्दैछौं । क्यामेरा हराएका स्थानहरु कोर क्षेत्र कम छन्,’ इकालोजिस्ट पन्तले भने ।
बाघ गणना ७२ दिन र १० हजार ९ सय ४४ मानिस दिन (मेन डे) लाग्ने अनमान गरिएपनि गणना ढिलो सकिएको थियो । चितवन–पर्सामा ११३ जना मानिसहरुले ६३ दिन, बाँके–बर्दियामा ४२ जनाले ८८ दिन र शुक्लाफाँटामा ७० जनाले २० दिन काम गरेका थिए ।
गणना सुरु गर्नुअघि विभागले १ हजार ९ सय २४ वटा ग्रिड बनाएर ३ हजार ३२८ वटा क्यामेरा ट्रयाप प्रयोग गर्ने जनाएको थियो । तर, ग्रिड संख्या घटाएर १ हजार ८ सय ४१ वटा बनाइएको थियो । ग्रिडको संख्या सन् २०१८को बाघ गणनाभन्दा कम हो । २०१८को गणनामा २ हजार ४५ वटा ग्रिड र १ हजार ६ सय ४३ स्थानमा क्यामेरा ट्रयाप जडान गरिएको थियो ।
अनुसन्धानकर्ता लामिछानेले ग्रिडको संख्या कम भएपनि बासस्थान नछुट्याएको बताए । ‘२०१८ को गणनामा हामीले धेरै ठाउँमा ग्रिड र क्यामेरा राखेका थियौं । त्यसबाट प्राप्त अनुभवलाई सिकेर यस पटक संख्या कम गरेका हौं, ’ लामिछानेले भने । जथभावी रुपमा ग्रिड निर्माण र क्यामेरा राख्दा समय र स्रोतको व्यर्थमा खर्च भएको अनुभव उनले सुनाए ।
‘संख्या बढ्नेमा आशावादी तर ढुक्क हुने अवस्था छैन’
बाघ गणना सकिएसँगै राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागमा तथ्यांक विश्लेषणको कार्य सुरु भएको छ । विभागले नतिजा विश्लेषणका लागि छुट्टै डेस्क खडा गरेर काम गरिरहेको छ ।
अहिले बाँके–बर्दिया कम्प्लेक्सको तथ्यांक आइसकेको र अन्य कम्प्लेक्सको तथ्यांक आउने क्रममा रहेको इकोलोजिस्ट पन्तले जानकारी दिए । तथ्यांक विश्लेषणका लागि पहिलो चरणमा ३ जना प्राविधिक खटिएका छन् । प्रराम्भिक कार्यपछि दोस्रो चरणमा विज्ञ समूहको टोलीे बसेर तथ्यांक विश्लेषण गरेर नतिजा निकालिने उनले जानकारी दिए ।
बाघ गणना सम्पन्न गर्नका लागि करिब ३ करोड ७० लाख खर्च गर्ने अनुमान छ । गणनामा क्यामेरा ट्रयाप, सन्टो कम्पास, रेन्ज फाइन्टर, जीपीएसलगायतको सामग्री प्रयोग गरिएको थियो ।
नेपालमा १९९६ मा गरिएको बाघ गणनामा ९३ देखि १०७ वटा रहेको अनुमान गरिएको थियो । त्यसपछि सन् २००९मा गरिएको गणनामा १२१, २०१३ मा १९८ र २०१८मा २३५ वटा बाघ गणना गरिएको थियो । २०१८को गणनामा चिनवमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा रकर्ड गरिएको थियो । सन् २०१०मा पहिलो पटक रसियामा भएको बाघ सम्मेलनले १२ वर्षभित्रमा संख्या दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यही प्रतिबद्धता अनुसार नेपालले १२ वर्षमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो ।
यो गणनाबाट बाघको संख्या दोब्बर हुनेमा संरक्षणकर्मी आशावादी छन् । उनीहरु संख्या दोब्बर हुनेमा आशावादी भएपनि ढुक्क हुन सक्ने अवस्था नरहेको बताउँछन् । प्रवक्ता पुन भन्छन्, ‘बाघको संख्या दोब्बर हुनेमा हामी आशावादी छौं तर ढुक्क हुने सक्ने अवस्था छैन ।’ एनटीएनसीका चितवन कार्यालयका प्रमुख एवं अनुसन्धानकर्ता बाबुराम लामिछाने पनि ढुक्क भइहाल्ने अवस्था नरहेको बताए ।