
काठमाडौँ —
उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ ।
उडान सञ्चालन नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट लामालाई ग्राउन्डेड गरिएको हो ।
५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।
वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको हो ।
कारबाही स्वरुप लामाको मलेसिया भ्रमण समेत रद्द गरिएको छ । लामा सेफिट इक्युपमेन्ट इमर्जेन्सी तालिमका लागि आइतबार मलेसिया जाने तयारीमा थिए । उनलाई कति दिन सम्मको लागि ग्राउण्डेड गरिएको भन्ने महानिर्देशक अधिकारीले खुलाएनन् ।
चर्चित एभियसन ब्लगर सम चाेइलाई विना अनुमति जहाजको ककपिटमा लगेको भन्दै लामालाई कारबाही गरिएको हो । चोइ केही दिनअघि नेपाल भ्रमणमा आएका थिए । उनले क्याप्टेन लामासँग ककपिटमा खिचेको फोटो र भिडिओ सामाजिक सञ्जालमा राखेका थिए ।
लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा एक विदेशी भ्लगरलाई अन्तर्वार्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए ।