काठमाडौं । एकपछि अर्को चमत्कार गर्दै आइरहेको चीनले इतिहास रच्ने काम गरेको छ । विश्वमै पहिलोपटक चीनका वैज्ञानिकहरुले एउटा यस्तो माछा तयार पारेका छन् जसले सुक्ष्म प्लास्टिक अर्थात् माइक्रो प्लास्टिक खाएर आफ्नो पेट भर्दछ । योसँगै अब समुद्रबाट माइक्रोप्लास्टिकको समस्या समाधान हुने आशा जागेको छ ।
चीनको दक्षिण पश्चिमस्थित सिचुआन विश्वविद्यालयका वैज्ञानिकहरुले उक्त विशेष रोबोटिक माछा तयार गरेका हुन् । यो रोबोटिक माछाले माइक्रोप्लास्टिक खाने गर्दछ । यो रोबोटिक माछाको विकाससँगै अब भविष्यमा समुद्रमा माइक्रोप्लास्टिक प्रदूषणको समस्या हट्ने अपेक्षा गरिएको छ ।
उक्त रोबोटिक माछाको विकास गर्ने वैज्ञानिक वांग युयानका अनुसार यो माछा देख्दा र छुँदा ठ्याक्कै वास्तविक माछा जस्तै अनुभूति हुन्छ । यसको लम्बाइ १।३ सेन्टिमिटर अर्थात् आधा इन्च मात्रै छ । यो रोबोटिक माछाले पानीमा रहेको माइक्रोप्लास्टिकलाई खाने गर्दछ ।
हालका लागि यो रोबोटिक माछाले कम गहिरो पानीका स्रोतमा मात्र काम गर्न सक्दछ । त्यसैले यसलाई समुद्रको पिँधसम्मै जानसक्ने गरी विकास गर्नेतर्फ वैज्ञानिकहरु जुटिरहेका छन् । यदि त्यो प्रयास सफल भएमा सामुद्रिक प्रदूषण कम गर्न सहयोग पुग्नेछ ।
समुद्रमा रहँदा कुनै ठूलो माछाले यसलाई सिकार सम्झेर निल्यो भनेपनि समस्या छैन । यसले ठूलो माछाको पेटमा कुनै हानी गर्दैन । किनकी यसको शरीर पोलियुरिथेनबाट बनेको हुन्छ, जुन जैविक तरिकाबाट गल्दछ ।
यो रोबोटिक माछा आफ्नो शरीरको आकारको करीब पौने ३ गुणा धेरै दूरी प्रतिसेकेण्डको गतिमा दौडिन सक्दछ । यो विश्वमा हालसम्म निर्मित नरम रोबोटमध्ये सबैभन्दा तीव्र गतिको रोबोट भएको बताइएको छ ।–एजेन्सीको सहयोगमा