अभिनयबाट सपनाको उडान भर्दै लुनिभा

अभिनयबाट सपनाको उडान भर्दै लुनिभा

0Shares

अभिनय  कि एभियसन ? दुईमा एक रोज्नु थियो । उनले रोजिन् अभिनय । ७० हजार तलब माया मारेर ‘होस्टेल’ सिरियलमा अभिनय गरिन् । पारिश्रमिक पाइन् ३० हजार । एभियसन रोजेकी भए आज लुनिभा तुलाधर आकाशमा उडान भर्दै गरेकी हुन्थिन् । अहिले भने उनी अभिनयबाट सपनाको उडान भर्दैछिन् ।

रंगमञ्चका लोभलाग्दा चरित्र, सशक्त र संवेदनशील विषयमा नाटक/लघु फिल्म, डकुमेन्ट्री निर्देशन, ठूलो पर्दाका छोटो भूमिकामा उनी जमेकी छिन् । २२ वर्षको अभिनय करिअरमा लुनिभाले आफूलाई कलाका विभिन्न आयाममा पस्किसकिन् ।

हिरोइन’ बन्ने सपनाले अभिनयको यो यात्रामा उनले उकाली ओराली गरेकी हुन् । कान्तिपुर इंग्लिस हाई स्कुलमा कक्षा ६ मा पढ्दै गर्दा शिक्षकले सबै विद्यार्थीलाई आ-आफ्नो लक्ष्यबारे निबन्ध लेख्न लगाए । साथीहरूको लक्ष्य थियो – डाक्टर, इन्जिनियर, पाइलट बन्ने । लुनिभाले लेखिन्,’म माधुरी दीक्षितजस्तै हिरोइन बन्न चाहन्छु ।’ शिक्षकले उनको निबन्धलाई बोर्डमै टाँसिदिए । त्यसपछि साथीहरूले ‘माधुरी दीक्षित’ भन्दै उनलाई जिस्काउन थाले । त्यतिबेलादेखि नै ‘हिरोइन’ बन्ने रहर पलाउँदै गयो, तर सौन्दर्यको परम्परागत दृष्टिकोणभित्र लुनिभा आफूलाई पाउँदिन थिइन् । छोटो कपाल, बुवाको चेकसर्ट लगाएर हिँड्दा धेरैले उनलाई मुखैमा भनिदिन्थे,’केटाजस्तो छस् कसरी बन्छस् हिरोइन ।’ लुनिभा सम्झिन्छन्,’म अरुजस्तो ‘राम्री’ थिइनँ । म गोरी थिइनँ । म चाहिने भन्दा अग्लो थिएँ । हिरोइनको न्यारेटिभमा पर्दिन थिएँ ।’

लुनिभालाई काका र काकीले भने खुबै ‘सपोर्ट’ गर्नुहुन्थ्यो । ९ कक्षामा हुँदै उनले जीवनको पहिलो फोटोसुट गरिन् । काकाले नै उक्त फोटोसुट गरिदिए । विद्यालयमा हुने कार्यक्रममा लुनिभाले कहिल्यै नाच्न पाइनन् । उनी साथीहरूभन्दा अग्लो कदकी । नाच्नलाई जोडी नै नमिल्ने । त्यसैले शिक्षक उनलाई गायन समूहतिर पठाइदिन्थे । बुवा उनका संगीतकार । ‘संगीतकारकी छोरीले गाउनुपर्छ’ भन्दै सधैँ गायनतिर धकेलिए पनि अभिनयप्रतिको उनको चाहना हराएन ।

एसएलसी सकिनेबित्तिकै उनले ‘वेलकम’ कार्यक्रममा अभिनयमा एकल प्रस्तुति दिइन् । माइकको अगाडि एक्लै उभिएर के गरिन् ? के बोलिन् अहिले खासै सम्झना छैन । त्यही प्रस्तुति हेरेपछि भने शिव रिजालले उनलाई नाटक ‘आरु फूलका सपना’मा लिए । शिव, उनको अंग्रेजी पढाउने शिक्षक । बबरमहल रिभिजिटेडमा उनको नाटक हेर्न रंगकर्मी सुनील पोख्रेल आइपुगेका थिए । त्यतिबेलै लुनिभाकी दिदीले सुनीललाई आफ्नो बहिनीलाई अभिनयमा रहर भएको सुनाइदिइन् । सुनीलले लुनिभालाई १२ सकाएर अभिनय सिक्न आउन सल्लाह दिए । १२ सकिनेबित्तिकै देवदास हेरिन् अनि सोझै सुनीलको घरमा पुगिन् । ‘तपाईंले १२ सकाएर आउनु भन्नु भएको होइन । म आएँ,’ सुनीललाई भनेको कुरा अझै उनलाई सम्झना छ ।

पोख्रेलले ‘१२ को नतिजा आएपछि आउनू’ भनि फर्काइदिए । त्यसरी उनी गुरुकुल पुगिन् । गुरुकुल पुग्नुअघि नै खन्ना सर भन्ने पञ्जाबी शिक्षकसँग केही समय फिल्म र नाटक सिकिन् । रंगमञ्चमै अभिनय सिक्ने क्रममा उनले ‘होस्टेल’ सिरियलको लागि अडिसन दिइन् ।घर पुग्दा एयरहोस्टेसको जागिर उनलाई कुरेर बसेको थियो । ‘अनि मैले ७० हजार तलबसहितको एयरहोस्टेसको काम छोडें, अभिनय रोजें,’त्यो क्षण सम्झँदै भनिन्,’बुवाले मलाई त्यतिबेला दुईमा एउटा रोज्न लगाउनुभयो । मैले होस्टेल रोजें । बुवा त्यतिबेलामान्नु भएको थिएन । अहिले पनि सरकारी जगिर खाओस् भन्ने चाहनुहुन्छ ।’

‘होस्टेल’ सिरियलपछि उनले ‘पवनकली’ गरिन् । धेरैले लुनिभालाई अहिले पनि पवनकलीकै रूपमा चिन्छन् । ‘पवनकली’को चर्चा चुलिँदै गर्दा उनले आफ्नो ‘हिरोइन’ बन्ने सपना पच्छ्याउँदै सन् २००५ तिरगुजरातमा फिल्म पढ्न पुगिन् । ‘मलाई त्यतिबेला अहिले नै पवनकलीलाई रोकेन भने एकता कपुरको धारावाहिक जस्तै ६ वर्ष गर्नुपर्छ भन्ने भान भयो । त्यसमाथि डेस्कमा बसेर लेख्ने स्वाभाव थिएन मेरो । काठमाडौंमा हुर्कें, त्यही कार्यक्रमकै पारिश्रमिकमा भर पर्नुपर्छ भन्ने पनि थिएन । त्यसैले गुजरात गएँ,’ उनी सुनाउँछिन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: