कोरोना भाइरस (कोभिड-१९) महामारी यता प्रत्येक महिना नेपाल भित्रिने पर्यटकको संख्यात्मक हिसाबले सन् २०२२ को मार्च महिनामा सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् ।
अध्यागमन विभागको तथ्यांक अनुसार मार्च महिनामा कुल ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । विभागका अनुसार २०७६ साल चैतमा कोरोना महामारी सुरु भएपछि एक महिनाको अवधिमा यति ठूलो संख्यामा पर्यटक आगमन भएको हो ।
सन् २०२१ मा सबैभन्दा धेरै पर्यटक नोभेम्बर महिनामा भित्रिएका थिए । विभागका अनुसार सो महिना २६ हजार १३५ जना पर्यटक नेपाल भित्रिएको थिए । सोही वर्षको जुन महिनामा सबैभन्दा कम १ हजार १४३ जना पर्यटक नेपाल भित्रिएका थिए ।

पछिल्लो समय नेपालमा पर्वतारोहणको सिजन सुरु भएको छ । यो समय पदयात्रामा जाने समय समेत भएकाले धेरै पर्यटक यस सिजनमा हुने गर्छ । पर्यटन व्यवसायीहरु समेत पर्यटक आगमनको बढ्दो संख्यासँगै उत्साहित बनिरहेका छन् । होटल संघ नेपाल (हान) का सदस्य युवराज श्रेष्ठका अनुसार भारतीय पर्यटकका कारण होटल उद्योगमा समेत सकारात्मक संकेत देखिएको छ ।
सन् २०२२ मा कुन महिनामा कति पर्यटक ?
- जनवरी : १६,९७५
- फेब्रुअरी : १९,७६६
- मार्च : ४२,००६
भारतीय मात्र १५ हजार
एक महिनाको अवधिमा नेपालमा भारतीय पर्यटकको संख्या मात्र १५ हजार रहेको छ । तथ्यांक अनुसार मार्चमा १५ हजार १३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो अवधिमा बंगलादेशबाट समेत २,१५२ जना नेपाल आएका छन् ।
संख्यात्मक हिसाबले यो महिनामा अमेरिकाबाट दोस्रो बढी संख्यामा पर्यटक आएका छन् । यस अवधिमा सो मुलुकबाट ४८९६ जना पर्यटक नेपाल आएको तथ्यांक छ । बेलायतबाट ४०२९ जना पर्यटक नेपाल आएका छन् ।
कोरोना महामारी सुरु हुनु अघि नेपाल आउने पर्यटकमा चीन भारतपछि दोस्रो स्थानमा रहने गरेको थियो । तर, चीनले अहिले पनि आफ्ना नागरिकलाई भ्रमण खुला गसिकेको छैन । सोहीकारण मार्चमा चीनबाट ४३१ जना मात्रै नेपाल आएको तथ्यांक छ ।
कुन मुलुकबाट कति आगमन (टप फाइभ) ?
- भारत : १५,०१३
- अमेरिका : ४,८९६
- बेलायत : ४,०२९
- बंगलादेश : २,१५२
- जर्मनी : १,८१७
युक्रेन र रसियाबाट कति आए ?
रुस र युक्रेनको द्वन्द्वका बावजुत ती मुलुकबाट समेत नागरिकहरु नेपाल भ्रमणमा भने आएको पाइएको छ । मार्च महिनामा ७० जना युक्रेनी नागरिक नेपाल आएका छन् । रुसबाट ४२३ जना रुसी नागरिक नेपाल भ्रमणमा आएको तथ्यांक छ । मार्च महिनामा कुल १५६ मुलुकबाट विदेशीहरु नेपाल आएका छन् ।
व्यवसायीहरुका अनुसार युरोप र अमेरिकाबाट आउने अधिकांश पर्यटक पर्वतारोहण र पदयात्राको प्रयोजनमा नेपाल आउँछन् । भारतीयहरु भने मनोरञ्जन तथा धार्मिक प्रयोजनमा नेपाल आउने गरेका छन् । खासगरि बढ्दो गर्मीका बीचमा व्यवसायीहरु यो सिजनमा नेपाल प्रवर्द्धनमा केन्द्रित हुने गरेका छन् ।
अन्तर्राष्ट्रिय यात्रुको संख्यामा समेत उत्साहजनक
अध्यागमन विभागको तथ्यांक अनुसार अन्तर्राष्ट्रिय यात्रुको संख्या समेत मार्च महिनामा उत्साहजनक देखिएको छ ।
मार्चमा अन्तर्राष्ट्रिय र बाह्य गरी कुल १ लाख २२ हजार ७ सय ३९ जनाको नेपाल आगमन भएको छ । यस महिनामा नेपालबाट भने १ लाख ३२ हजार ५ सय ९१ जना व्यक्तिले नेपालबाट विदेश यात्रा गरेका छन् ।
नेपालबाट बाहरिनेमा ३४ हजार ३६ जना विदेशी र ९८ हजार ५ सय ५५ जना नेपाली नागरिक रहेका छन् ।