तपाईंले दही त खानु भएकै छ पक्का पनि। घरमै ठेकीमा जमाएको, कुनै भाँडामा जमाएको वा डेरीबाट किनेको खाने गर्नुभएको होला। काठमाडौं उपत्यकाबासीले भक्तपुरको जुजु धौ पनि खानुभएको होला।
तपाईंले ‘ग्रीक योगर्ट’ चाहिँ खानुभएको छ कि छैन त? अंग्रेजीमा दहीलाई योगर्ट भन्छन्।
ग्रीक योगर्टमा प्रोटिन बढी र सुगर (चिनीको मात्रा) अत्यन्तै कम हुन्छ। सामान्य दहीभन्दा ग्रीक योगर्टमा पानी पनि कम हुन्छ।
विदेशमा पढेर फर्केका तीन जना उद्यमी युवाले अमेरिकी मुलुकहरूमा प्रचलित ग्रीक योगर्टको स्वाद नेपाली बजारमा ल्याएका छन्। संखुवासभाका सूर्य कार्की, चितवनका विनय बोगटी र सन्दीप पौडेलले दुग्ध परिकारका पारखी नेपालीका लागि दहीको नयाँ स्वाद पस्केका हुन्।
उनीहरूले बजारमा भित्र्याएको दहीको ब्रान्ड नाम ‘डेलिस ग्रीक योगर्ट’ हो। उनीहरूले अन्य दुग्ध परिकारसमेत उत्पादन गर्ने गरी डेरी उद्योग सञ्चालन गरेका छन्।
सञ्चालकमध्येका एक सूर्य कार्कीका अनुसार डेलिस ग्रीक योगर्ट बनाउन दहीको पानी हटाइन्छ। यसपछि प्रशोधनको प्रक्रियाबाट विभिन्न स्वादमा डेलिस ग्रीक योगर्ट तयार गरिन्छ।
‘हामीले ल्याएको डेलिस ग्रीक योगर्ट नेपालमा पहिलो हो,’ सूर्य दाबी गर्दै भन्छन्, ‘अहिले क्लासिक, स्ट्रबेरी, मिक्सबेरी र आँप गरी चार थरी स्वादमा बनाउँछौं।’
डेलिस क्लासिक सुगर फ्री (चिनी नभएको) हुन्छ। ग्रीक योगर्टको खास स्वाद थाहा पाउन डेलिस क्लासिक खानुपर्छ। त्यस्तै डेलिस स्ट्रबेरीमा स्ट्रबेरी फलको स्वाद राखिएको हुन्छ। मिश्रित बेरिजमा बजारमा उपलब्ध हुने सबै खाले बेरीहरूको स्वाद पाइन्छ। आफूहरूले प्राकृतिक स्वाद राखेर डेलिस ग्रीक योगर्ट बनाउने उनी बताउँछन्।
‘दहीमा राख्ने फलफूल मेसिनबाट प्रशोधन गरिन्छ। बजारमा पाइने धेरै खानेकुरामा आर्टिफिसयल फ्लेभर (नक्कली बासना–स्वाद) हालिएको हुन्छ,’ सूर्यले भने, ‘हामी प्राकृतिक स्वाद राख्छौं। दही खाँदा फलका टुक्रा पनि आउँछ।’
डेलिस ग्रीक योगर्टकाे उत्पादन हुन थालेको आठ महिना मात्रै भयो। अहिले यो काठमाडौं उपत्यका, पोखरा लगायत विभिन्न सहरका सुपरमार्केट, मार्ट र पसलहरूमा किन्न पाइन्छ।
सूर्यका अनुसार डेलिस ग्रीक योगर्ट धेरैले ब्रेकफास्टसँग खान रूचाएका छन्। ओट्स, कर्नफ्लेक्स लगायत ब्रेकफास्टमा मिसाएर खाँदा स्वादिष्ट हुन्छ। यो दही शरीरका लागि फाइदाजनक भएको पनि उनको भनाइ छ। शरीरको तौल घटाउन चाहने व्यक्ति, मधुमेहका बिरामी, पाचनसम्बन्धी समस्या भएकाहरूका लागि स्वास्थ्यवर्द्धक हुन्छ।
बजारमा डेलिस दही सबभन्दा कम तौल १२५ ग्रामको प्याकेटमा पाइन्छ। झट्ट हेर्दा आइसक्रिम जस्तै प्याकेजिङ देखिन्छ। यसको मूल्य १३५ रूपैयाँ छ।
ग्रीक योगर्टका अनेक स्वाद नेपाली बजारमा पुर्याउने योजना तीन जना मिलेर बनाएका हुन्। त्यसमा पनि पढाइको सिलसिलमा अमेरिका पुगेका सुर्यले त्यहाँ ग्रीक योगर्ट खाएका रहेछन्। त्यसको स्वादमा पल्केका सूर्यलाई आफ्नो देशमा डेरी क्षेत्रमा काम गर्ने सोच त्यति बेलै आएको हो।
उनकाअनुसार पढाइ पूरा गरेर स्वदेश फर्केपछि साथीसँग भेट भयो। उस्तै उमेरका तीन जनाबीच छलफल भयो। उनीहरूले कृषि क्षेत्रमा लगानी गर्ने सोच बनाए।
सूर्य भन्छन्, ‘२०७४ सालमा हाम्रो भेट भयो। बिजनेस, कृषि र सिए पढेका हामी तीन जना कृषिमा केही नयाँ उत्पादन ल्याएर बजारमा भित्र्याउनुपर्छ भन्नेमा सहमत भयौं।’
कृषिमा काम त गर्ने तर के गर्ने? दुग्ध क्षेत्रमा काम गर्दा डेरी खोलेर दूध, दही, मोही, घ्यू त सबैले बेच्छन्, नयाँ के दिने!
सूर्यको आइडियाअनुसार उनीहरू ग्रीक योगर्टको स्वाद नेपाली बजारमा पस्किन सकिन्छ भन्ने निष्कर्षमा पुगे। सूर्यले ग्रीक योगर्ट खाए पनि बनाउने प्रविधि थाहा थिएन। उनीहरूले यसबारे खोजी थाले।
भारतमा पनि ग्रीक योगर्ट बन्छ भन्ने थाहा पाएर सूर्य, सन्दीप र विनय तीनै जना त्यता गए। उनीहरूलाई त ‘तँ सोच, म पुर्याउँछु’ भनेजस्तै भयो। मेसिनबारे बुझे, प्रविधि सिके अनि नेपाल फर्के।
ग्रीक योगर्ट उत्पादन हुने पक्का भएपछि बजार अध्ययन थाले। सामान्य दहीभन्दा महँगो पर्ने ग्रीक योगर्ट नेपाली उपभोक्ताले किन्छन् कि किन्दैनन्! बजार अध्ययनमा एक वर्ष बित्यो। नतिजा सकारात्मक देखियो। उनीहरू उत्पादन गर्ने निष्कर्षमा पुगे।
उनीहरूलाई उद्योगका लागि उपयुक्त ठाउँ चाहियो। खोजे जति दूध पाइने ठाउँ चितवन रोजे। तीन जना मिलेर ‘डेलिस डेरी’ नामक उद्योग दर्ता गरे। उद्योगको नाममा २०७५ सालमा एक बिघा जमिन किने। दूध प्रशोधन गर्ने मेसिन भारतबाट मगाए। कोरोना महामारीकै बीचमा उनीहरूले त्यहीँ संरचनाहरू खडा गरेर उद्योग तयार पारे।
डेलिस डेरीले एक वर्षअघि फागुनमा उत्पादन थालेको हो। सुरूमा उनीहरूले ग्रीक योगर्ट बनाएनन्। ‘पञ्चमी’ नाम दिएर दूध र दहीसहित केही दूग्ध परिकारहरू तयार गरे।
‘हामी व्यावसायिक घरानाका थिएनौं। पहिलो पटक व्यवसाय गर्दै थियौं। पहिले स्थानीय स्वाद नै पस्किने सोच बनायौं,’ सूर्यले सेतोपाटीसँग भने, ‘डेरीबाट पञ्चमी ब्रान्डका परिकार बेच्न थाल्यौं।’