चुनावी गठबन्धनको प्रयासमा एमाले र राप्रपा नेपाल

चुनावी गठबन्धनको प्रयासमा एमाले र राप्रपा नेपाल

0Shares

नेकपा एमाले र राप्रपा नेपालबीच ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि सम्वाद भइरहेको नेताहरुले बताएका छन् । तत्कालीन राप्रपाले जितेका स्थानीय तह आफूलाई छाड्ने हो भने देशभर एमालेलाई सघाउन राप्रपा नेपालको नेतृत्व तयार देखिएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष ओलीलाई भेटेका छन् भने दुई पार्टीका अरु नेताहरुले पनि सम्वाद गरिरहेका छन् । ‘एक सातादेखि कुराकानी भइरहेको छ,’ महामन्त्री सुशील श्रेष्ठले भने ।

एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल पनि राप्रपा नेपालसँग अनौपचारिक सम्वाद चलिरहेको स्वीकार गर्छन् ।

राप्रपाबाट अलग भएका कमल थापाले डेढ महिनाअघि आफ्नो नेतृत्वमा राप्रपा नेपाल पुनर्गठन अभियान थालेका थिए । उक्त पार्टीका महामन्त्री श्रेष्ठका अनुसार ७७ वटै जिल्लामा जिल्ला कमिटी बनेपनि ३० वैशाखको स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिने अवस्था छैन ।

एक्लै चुनावमा जाने अवस्था नभएकाले तालमेलका लागि एमालेसँग कुराकानी भइरहेको भन्दै श्रेष्ठले अनलाइनखबरसँग भने, ‘एमालेसँग अनौपचारिक कुरा भइरहेको छ । सबै कुरा सकारात्मक ढंगबाट गयो भने एमालेसँग गठबन्धनको सम्भावना हुनसक्छ ।’

स्थानीय तह परिचालन विभागका संयोजकसमेत रहेका श्रेष्ठका अनुसार देशभर कहाँकहाँ उम्मेदवार बनाउन सकिन्छ भनेर गृहकार्य भइरहेको छ ।

केही स्थानीय पालिकाका प्रमुख वा उपप्रमुखका साथै ५९/६० वडाध्यक्ष तत्कालीन राप्रपाले जितेको भन्दै उनले भने, ‘यदि हाम्रो गठबन्धन भयो भने पहिला हामीले जहाँ जितेका छौं, त्यहाँ उहाँहरुले उम्मेदवारी नदिने, उहाँहरुले जितेको ठाउँमा हामीले नदिने हुनसक्छ ।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: